असार १९, सोलुखुम्बु । उदयपुुरको ताप्लि गाउँपालिका–२ लेखगाउँ पाँचौं बालमैत्री वडाको रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ । उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार, हरियाली ताप्ली, समृद्धिको आधार भन्ने मूल नारासहित शुक्रबार बालमैत्री वडा घोषणा गरिएको हो । सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा नम्बर २ का वडाध्यक्ष छत्रबहादुर श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गर्दै वडा नं. २ लाई बालमैत्री घोषणा गरिएको हो। बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै आवश्यक भौतिक पूर्वाधार निर्माण, बाल अधिकारको संरक्षण, साथै शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता गरिएको जनाइएको छ। बालमैत्री वडा घोषणा कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि प्रमिल अधिकारी, जाल्पा एकीकृत विकास समाजका तुलाराम धमला तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय संस्कृति झल्काउने झाँकी, पञ्चेबाजा तथा विविध सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। वडा नं. २ बालमैत्री वडा घोषणा भएसँगै सम्पूर्ण ताप्ली गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यतर्फ थप बाटो खुलेको छ। गाउँपालिकाका अनुसार सबै वडालाई क्रमशः बालमैत्री घोषणा गर्दै कोशी प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बन्ने लक्ष्य लिइएको छ ।










Discussion about this post