सोलुखुम्बु, असार २० । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–२ मा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माणका कार्य, सेवा प्रवाह, बजेट कार्यान्वयन, आय–व्यय विवरण तथा विभिन्न योजनाको प्रगति सार्वजनिक गरिएको थियो।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा आफ्ना जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। उठाइएका प्रश्नहरूको सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीहरूले जवाफ दिँदै प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वडा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्य प्रकाश राई, वडा सदस्यहरू, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सार्वजनिक सुनुवाइले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।










Discussion about this post