असार २८, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षमा विनियोजित कुल बजेट, विभिन्न स्रोत तथा अनुदानको आधारमा भएको चालु तथा पुँजीगत खर्चको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ८७.२३ प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।
नगरपालिकाका लागि चालु आर्थिक वर्षमा कुल ६९ करोड ७७ लाख २१ हजार ३०० रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६० करोड ८६ लाख ९१ हजार ८३० रुपैयाँ ६१ पैसा खर्च भएको छ । त्यस्तै, यस अवधिमा नगरपालिकाको वास्तविक कुल आय ६८ करोड २५ लाख ९८ हजार ८ सय ४६ रुपैयाँ ८० पैसा रहेको जनाइएको छ ।
नगरपालिकाका अनुसार चालु खर्चतर्फ ५० करोड ८१ लाख ७७ हजार ९०० रुपैयाँ विनियोजन गरिएकोमा ८८.२८ प्रतिशत अर्थात् ४४ करोड ८६ लाख ५ हजार ८०३ रुपैयाँ ८२ पैसा खर्च भएको छ । त्यसैगरी, विकास निर्माण तथा पुँजीगततर्फ १८ करोड ९५ लाख ४३ हजार २०० रुपैयाँ विनियोजन गरिएकोमा ८४.४६ प्रतिशत अर्थात् १६ करोड ०० लाख ८६ हजार ०२६ रुपैयाँ ७९ पैसा खर्च भएको नगरपालिकाले जनाएको छ ।
वास्तविक आयको आधारमा नगरपालिकाको कुल प्रगति प्रतिशत ८९.१७ रहेको विवरणमा उल्लेख छ । नगरपालिकाका लेखा अधिकृत नबराज कटवाल र प्रमुख प्रशासकीय अधिकृत पवन कुमार प्याकुरेलद्वारा प्रमाणित गरिएको उक्त विवरण स्थानीय सरकारको पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिएको हो ।











Discussion about this post