साउन ८, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले असार महिनाको ‘पुलिस अफ द मन्थ’ का रूपमा प्रहरी निरीक्षक मौसम तामाङलाई घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी निरीक्षक तामाङलाई विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको अक्षरशः पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ ढङ्गले उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो । कार्यालयका अनुसार गम्भीर प्रकृतिका दुई फरक कर्तव्य ज्यान (हत्या) सम्बन्धी घटनाको सफल अनुसन्धान गर्दै अभियुक्तलाई कानुनी दायरामा ल्याउन उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । पहिलो घटनामा सोलुदुधकुण्ड नगरपालिका–११ बुस्तिम निवासी ७१ वर्षीय रिंजी शेर्पाको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो । प्रारम्भिक रूपमा भवितव्यबाट मृत्यु भएको देखिए पनि प्रहरी निरीक्षक तामाङको नेतृत्वमा घटनास्थलको सूक्ष्म निरीक्षण, प्रमाण संकलन तथा शव परीक्षण गर्दा मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथ्य खुलेको थियो।
त्यसपछि अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले घटनामा संलग्न ४२ वर्षीय आङदावा शेर्पालाई नियन्त्रणमा लिई सफलतापूर्वक अनुसन्धान सम्पन्न गरेको थियो । यस्तै दोस्रो घटनामा थुलुङ दुधकोशी गाउँपालिका–१ मा कोठा भाडामा बस्दै आएकी ३७ वर्षीया कमला भन्ने लछीमाया विश्वकर्मा असार १६ गते बिहान छिमेकीको बारीमा कोदो रोप्न जाने भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन हुनुभएको थियो। बेपत्ता भएपछि प्रहरीले खोजतलाससँगै अनुसन्धान अघि बढाएको थियो। घटनाको अनुसन्धानका क्रममा संकलित प्रमाण, प्राप्त सूचनाका साथै प्राविधिक विश्लेषणका आधारमा प्रहरीले सोही गाउँपालिकाका ३५ वर्षीय विकास भन्ने योगेन्द्र कटवाललाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक तामाङलाई असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको जनाएको छ । कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले उक्त घोषणा गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले संगठनभित्र व्यावसायिकता र कार्यसम्पादनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।










Discussion about this post