सोलुखुम्बु, साउन १८। हिमाली जिल्ला सोलुखुम्बुको सल्लेरी देखी सुर्केसम्मको सडक खण्ड अन्तर्गत नुनथला छिर्दी क्षेत्रको सडक मर्मतका लागी सोलु दुधकुण्ड नगरपालिका १ टाक्सिन्दु फुलेलीका स्थानीय आँफै जुटेका छन् । राउजे र लुजाङ हाइड्रोको कार्यक्षेत्र भित्र पर्ने उक्त सडक खण्डका यिनै हाइड्रोका भिमकाय सवारी साधन गुड्दा सडक ध्वस्त भएपछि स्थानीय आँफै श्रमदान मार्फत मर्मतमा जुटेका हुन् ।
फुलेली बासीले उक्त सडक खण्ड अन्तर्गतको करिव १३ किलोमिटर भित्रको खाल्डाखुल्डीपुर्ने, ढुँगा बिछ्याउने, ड्रेन काट्ने काम गरि सहज आवतजावतका लागी तयार गरेका हुन् । स्थानीयवासीको दैनिकीसँग प्रत्यक्ष जोडिएको सडक भएका कारण नियमित सास्ती भोग्दै आएका उनीहरूले पटक पटक हाइड्रो तथा स्थानीय सरकारसँग अनुनय गरेपनि सुनवाई नभएको गुनासो गरेका छन् ।
साउन १६ र १७ गते २ दिन सञ्चालित उक्त अभियानले सडकका खाल्डाखुल्डी पुर्ने हिलाम्मे स्थानमा ढुँगा बिछ्याउने काम गरि आवतजावतलाई सहज बनाएको स्थानीय श्याम खालिङले बताउनुभयो । सडक मर्मतका लागी युवादेखि ज्येष्ठ नागरिकसम्म करिव २ सय जना श्रमदानमा सहभागी भएका थिए । लौरोको सहारामा हिँड्नुपर्ने अवस्थाका अशक्त वृद्धवृद्धाहरू समेत सडक मर्मतका लागी कुटो, गैँती बोकेर सडकमा निस्किएका थिए ।
ठूला र हेव्वी सवारी साधन गुड्दा सडकमा एम्बुलेन्स समेत सञ्चालनमा समस्या आएपछि स्थानीयले ठूला सवारी साधन आवतजावतनै बन्द गरिदिएका छन् । सडक मर्मत पछि नियमित अनुगमनका लागी स्थानीयकै नेतृत्वमा १३ सदस्यीय अनुगमन समिति समेत बनेको छ ।










Discussion about this post