काठमाडौं, साउन २० । नेपाली कांग्रेसले सोलुखुम्बुका कैलाश केसीलाई पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजक नियुक्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले साउन २० गते जारी गरेको निर्णयअनुसार उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत थप ६ उपसमिति गठन गर्दै तिनका संयोजक तोकेको हो ।
सोही निर्णयअनुसार केसीले उपभोक्ता अधिकार, अवस्था र न्यायसम्बन्धी नीति निर्माण, अध्ययन तथा समन्वयको जिम्मेवारी पाएका हुन् । निर्णयअनुसार प्रतिष्ठानअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, ज्येष्ठ नागरिक सेवा तथा गरिमा, सिमान्तीकृत वर्ग तथा समुदाय र स्थानीय तह सुशासनसम्बन्धी विषयमा समेत नयाँ उपसमितिहरू गठन गरिएको छ । प्रतिष्ठानले हालसम्म ३१ वटा उपसमिति गठन गरिसकेको जनाएको छ ।
नवगठित उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत जिम्मेवारी तोकिएको सूचनामा उल्लेख छ । सोलुखुम्बुका केसीलाई नेपाली कांग्रेसको केन्द्रीय नीति प्रतिष्ठानअन्तर्गत महत्वपूर्ण उपसमितिको संयोजकको जिम्मेवारी दिइनुलाई जिल्लाका लागि उल्लेखनीय राजनीतिक जिम्मेवारीका रूपमा हेरिएको छ।










Discussion about this post