भाद्र २, सोलुखुम्बु । उदयपुरको ताप्लि गाउँपालिकाले स्थानीयस्तरमा खेर गइरहेको तितेपातीको सदुपयोग गर्दै त्यसबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट स्थापना गरेको छ । गाउँपालिकाले तितेपाती प्रशोधनका लागि ताप्लि गाउँपालिका–४ ठानागाउँ र वडा नं. १ जोरढुङ्गामा डिस्टिलेसन प्लान्ट स्थापना गरेको हो । यसअन्तर्गत ठानागाउँमा स्थापना गरिएको प्लान्टको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
गाउँपालिकाका अनुसार कृषकका बारी तथा आसपासका वन क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएर खेर गइरहेको तितेपाती सङ्कलन गरी प्लान्टमा प्रशोधन गरिनेछ । प्रशोधनबाट उत्पादन हुने तितेपातीको तेल औषधि तथा सौन्दर्य सामग्री निर्माणमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । गाउँपालिकाले स्थानीयस्तरमा प्रशस्त पाइने तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्न सके कृषकको आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरेको छ । हाल उपयोगविहीन अवस्थामा रहेका तितेपाती बिक्रीमार्फत कृषकले अतिरिक्त आम्दानी गर्न सक्ने गाउँपालिकाको भनाइ छ ।
तितेपाती प्रशोधनको काम स्थानीयस्तरमै सुरु भएपछि गाउँपालिकाका कृषक तथा स्थानीयवासी उत्साहित भएका छन् । प्लान्ट सञ्चालनमा आएपछि स्थानीय स्रोतको उपयोगसँगै कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्ने र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईका अनुसार आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी तितेपाती उत्पादन हुने क्षेत्र पहिचान गरिएको हो । स्थानीयको चाहनाअनुसार तितेपाती प्रशोधन कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार तितेपाती प्रशोधनलाई नियमित उत्पादनसँग जोडेर दीर्घकालीन रूपमा उद्योगकै रूपमा सञ्चालन गर्न सके स्थानीय कृषकको आयआर्जन बढाउन तथा कृषि क्षेत्रमा थप सफलता हासिल गर्न सहयोग पुग्नेछ ।
गाउँपालिकाले आगामी दिनमा तितेपातीको उत्पादन, सङ्कलन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्दै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।










Discussion about this post