भदौ ३, सोलुखुम्बु । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभरको मौसममा बदली र वर्षाको अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको छ। वर्षा, चट्याङ र हुरीबतासका कारण दैनिक जनजीवन, यातायात तथा कृषि क्षेत्रमा असर पर्नसक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।










Discussion about this post