भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन स्थानीय तहका बर्थिङ सेन्टरको सेवा सुदृढीकरण तथा जिल्ला अस्पतालको प्रसूति सेवा थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चौलागाईंका अनुसार जिल्लामा पछिल्लो वर्ष मातृ मृत्युको घटना नभए पनि पेरिनेटल र नियोनेटल मृत्युतर्फ भने केही चुनौती देखिएको छ । केही दिनअघि मात्रै सोलुदूधकुण्ड नगरपालिका–२ बाट एक पेरिनेटल मृत्युको घटना भएको र त्यसबारे अस्पताल तथा स्वास्थ्य कार्यालयको टोलीबीच छलफल गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाको भौगोलिक विकटताका कारण गर्भवती तथा सुत्केरीलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन चुनौती हुने भएकाले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप सुधार आवश्यक छ । चौलागाईंले नगर तथा गाउँ अस्पतालअन्तर्गतका बर्थिङ सेन्टरलाई सुदृढ बनाउने र जिल्ला अस्पतालमा प्रसूति तथा आकस्मिक प्रसूति सेवा थप प्रभावकारी बनाउनेलाई प्राथमिकतामा राखिएको बताउनुभयो । जिल्ला अस्पतालका चिकित्सकसहित स्वास्थ्य कार्यालयको टोलीले सम्बन्धित स्वास्थ्य संस्थाको अनुगमनलाई समेत प्राथमिकता दिने गरी कार्ययोजना बनाएको उहाँको भनाइ छ । स्थानीय तहको भूमिका पनि मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । पालिकाहरूले अघिल्लो वर्षदेखि नै मातृ तथा शिशु स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
हालै सम्पन्न पालिकास्तरीय स्वास्थ्य समीक्षा कार्यक्रममा पनि मातृ मृत्युदर घटाउने, मातृ स्वास्थ्य सुधार गर्ने तथा नियोनेटल र पेरिनेटल मृत्यु र बालबालिकाको बिरामी हुने दर घटाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो । सुत्केरी तथा गर्भवतीलाई आकस्मिक अवस्थामा स्वास्थ्य संस्थासम्म पुर्याउन जिल्लाका सबै पालिकामार्फत निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आवश्यकताअनुसार हेलिकोप्टर उद्धारको व्यवस्था पनि रहेको छ । विशेषगरी खुम्बु पासाङल्हामु गाउँपालिकामा हेलिकोप्टर उद्धारको कार्यक्रम सञ्चालनमा रहेको चौलागाईंले बताउनुभयो ।
मातृ तथा शिशु मृत्युदर घटाउन स्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थाको मात्रै भूमिका पर्याप्त नहुने उहाँको भनाइ छ । परिवार र समुदायको तयारी तथा समयमै स्वास्थ्य संस्था पुग्ने व्यवहारले पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। गर्भावस्थामा वा सुत्केरी अवस्थामा आमालाई अथवा शिशुलाई सामान्य समस्या देखिए पनि बेवास्ता नगरी तत्काल नजिकको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकामार्फत स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न चौलागाईंले सोलुखुम्बुवासीलाई आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार गर्भावस्थादेखि नै आवश्यक तयारी गर्ने, जोखिम पहिचान गर्ने र समस्या देखिएपछि समयमै स्वास्थ्य संस्था पुग्ने हो भने मातृ तथा शिशु मृत्यु घटाउन महत्वपूर्ण योगदान पुग्न सक्छ । सोलुखुम्बुको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै समुदाय, परिवार, स्थानीय तह र स्वास्थ्य संस्थाबीचको समन्वय अझ बलियो बनाउनुपर्ने उहाँको जोड छ ।











Discussion about this post