भदौ ५, सोलुखुम्बु । देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै, देशका अन्य हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, भूक्षय तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भारी वर्षा हुने क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र मौसमको पछिल्लो जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।










Discussion about this post