भदौ ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सवारी साधन कारबाहीबाट एक वर्षमा १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सवारी साधन कारबाहीबाट १४ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।
जिल्ला प्रहरी कार्यालयले सवारी साधन चेकजाँचलाई तीव्रता दिँदै नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई कारबाही गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा एक हजार ७७ पटक सवारी साधन चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २ सय ७२ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सवारी साधन तथा चालकले ट्राफिक नियम पालना नगर्दा कारबाही गर्नुपर्ने अवस्था आउने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि नियमित रूपमा सवारी चेकजाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्रहरीले सवारी चालकलाई सवारी नियमको पूर्ण पालना गर्न, आवश्यक कागजात साथमा राख्न तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।










Discussion about this post