भदाै ०५, साेलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पछिल्लो समय भालुको आतंक बढ्दै गएको छ। भालुको उपद्रोका कारण स्थानीयको दैनिकी त्रासपूर्ण बनेको छ भने वर्षभर खानका लागि लगाइएको मकैबाली नष्ट हुन थालेपछि किसान थप चिन्तित बनेका छन्।
मकैमा राम्रोसँग दाना लाग्न नपाउँदै भालुले बाली सखाप पार्न थालेपछि किसानहरू मकै जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्। भालुबाट मकैबालीसँगै घरपालुवा जनावरको समेत सुरक्षा गर्नुपर्ने अवस्था आएपछि स्थानीयको दैनिकी झनै कठिन बनेको छ।
सोलुदूधकुण्ड नगरपालिका–५ का चक्रबहादुर बस्नेतका अनुसार वर्षभरको खाद्यान्नका रूपमा लगाइएको मकै जोगाउन स्थानीय रातभर जाग्राम बस्नुपर्ने अवस्था छ। उनका अनुसार भालुको त्रासका कारण सामान्य दैनिक क्रियाकलाप गर्नसमेत स्थानीय डराउन थालेका छन्।
यतिबेला मकै पाक्ने समय भएकाले भालु घरआँगन र बारीमै पुग्न थालेपछि स्थानीय त्रासमा छन्। महाकुलुङ गाउँपालिकाकी रिता कुलुङका अनुसार एक रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली भालुले एकै रातमा सखाप पार्ने गरेको छ।
दुई दिनअघि मात्रै महाकुलुङ गाउँपालिकाका तीन घरपरिवारले करिब डेढ रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली भालुले नष्ट गरेको गुनासो गरेका छन्। मकैबाली नष्ट हुँदा वर्षभरको खाद्यान्नमै असर पर्ने भन्दै किसानहरू चिन्तित बनेका छन्।
सोलुखुम्बुमा भालुको समस्या नयाँ भने होइन। हरेक वर्ष भालुको उपद्रो दोहोरिँदै आएको स्थानीयको भनाइ छ। बाली नष्ट गर्नुका साथै विगतमा भालुको आक्रमणबाट मानिसको ज्यानसमेत गएको घटना रहेकाले स्थानीय थप त्रसित छन्।
विशेषगरी सोलुदूधकुण्ड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ तथा महाकुलुङ गाउँपालिका भालुको आतंकबाट बढी प्रभावित क्षेत्रका रूपमा स्थानीयले बताएका छन्।
भालुको आतंक बढ्दै जाँदा स्थानीयले बाली क्षतिको उचित क्षतिपूर्ति, मानव सुरक्षाको प्रभावकारी व्यवस्था तथा भालु नियन्त्रणका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन्।
“बारीमा मकै पाक्न नपाउँदै भालुले सखाप पार्ने, घरआँगनमै भालु आउने र रातभर जाग्राम बस्नुपर्ने अवस्था छ,” स्थानीयको गुनासो छ। वर्षभरको मेहनतबाट उत्पादन हुने अन्नबाली नै जोगाउन नसक्ने अवस्था आएपछि किसानहरू थप निराश बनेका छन्।










Discussion about this post