भदौ ७, सोलुखुम्बु । नेपाल लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा आइतबार सल्लेरीमा सम्पन्न भएको छ । साधारण सभाले जिल्ला समितिको ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको छ । जिल्ला समितिका अध्यक्ष आङ ङिमा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता कुञ्जाङ शेर्पा प्रमुख अतिथि तथा भू–सेवा सञ्चालक एवं संयोजक वीर उदास श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । उपाध्यक्ष निरकुमारी राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भू–सेवा संयोजक श्रेष्ठले लेखापढी व्यवसायी नियमावलीको परिधिभित्र रहेर व्यवसायीहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अधिवक्ता शेर्पाले अर्धन्यायिक निकायमा कार्यरत लेखापढी व्यवसायीले आवश्यक तालिम तथा कानुनी ज्ञान हासिल गरी सेवाप्रवाहलाई थप प्रभावकारी र सहज बनाउनुपर्ने बताउनुभयो ।
साधारण सभामा कोषाध्यक्ष रत्नबहादुर बस्नेतले आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । साधारण सभाले यसअघि रहेको कार्यसमितिलाई अनुमोदन गर्दै रिक्त पदाधिकारी तथा सदस्य पदमा नयाँ सदस्य चयन गरेको हो । नयाँ चयनसँगै जिल्ला कार्यसमितिले ९ सदस्यीय पूर्णता पाएको समितिले जनाएको छ । साधारण सभामा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।










Discussion about this post