भदौ १०, सोलुखुम्बु । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। विभागका अनुसार राति कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग र वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ। त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेशका साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।










Discussion about this post