भदौ १०, सोलुखुम्बु । सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय क्षेत्र दुधकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने भव्य मेलालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाएको छ । मेलामा देशका विभिन्न स्थानबाट भक्तजन तथा तीर्थयात्रीको आगमन बढ्ने भएपछि प्रहरीले फाप्लुमा सहायता कक्ष स्थापना गरेको हो । शुक्रबार दुधकुण्डमा लाग्ने मेलालाई लक्षित गरी बुधबारदेखि फाप्लुमा सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
सहायता कक्षमार्फत दुधकुण्ड जाने भक्तजनलाई आवश्यक जानकारी, सहजीकरण तथा सुरक्षा सहयोग उपलब्ध गराउने प्रहरीको तयारी छ । प्रहरीका अनुसार बुधबार मात्रै करिब १ सय १२ जना भक्तजन सवारीसाधनमार्फत दुधकुण्ड मेलातर्फ प्रस्थान गरेका छन् । मेलाको मुख्य दिन नजिकिँदै जाँदा भक्तजनको संख्या अझ बढ्ने अनुमान गरिएको छ । दुधकुण्ड पुग्ने भक्तजनका लागि मौसम, बाटोको अवस्था, स्वास्थ्य तथा सुरक्षाको विषय पनि महत्वपूर्ण मानिन्छ ।
उच्च हिमाली क्षेत्रमा मौसममा एक्कासि परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा तीर्थयात्रीलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । यसपटक प्रहरीले सहायता कक्ष स्थापना गर्नुको उद्देश्य केवल सुरक्षा दिनु मात्रै नभई हराएका व्यक्तिको खोजी, यात्रामा देखिएका समस्या समाधान, सवारी व्यवस्थापन तथा आपत्कालीन अवस्थामा समन्वय गर्ने रहेको जनाएको छ ।
विशेषगरी मेलामा बालबालिका, ज्येष्ठ नागरिक तथा ठूलो समूहमा आउने भक्तजन छुट्टिने सम्भावना भएकाले उनीहरूको सुरक्षामा समेत प्रहरीको ध्यान केन्द्रित हुने देखिएको छ । भीड बढेसँगै सवारीसाधन व्यवस्थापन पनि चुनौती बन्न सक्ने भएकाले प्रहरीले यात्रु तथा चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ । दुधकुण्ड मेला धार्मिक आस्थासँगै सोलुखुम्बुको पर्यटन प्रवद्र्धनसँग पनि जोडिएको महत्वपूर्ण पर्व हो । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा दुधकुण्डमा स्नान तथा पूजाआजा गर्न भक्तजन पुग्ने गरेका छन् ।











Discussion about this post