भदौ १६, सोलुखुम्बु । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन्। अझै कोशी प्रदेशका १५९ जना सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामका सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १९३ जनामध्ये पाँच जनाको जीवित उद्धार गरिएको र २७ जना परिवारको सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालका अनुसार बाढीबाट प्रभावितमध्ये सोलुखुम्बुका नागरिकको संख्या सबैभन्दा बढी रहेको छ।
प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुका ४५ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने ४२ जनाको अवस्था अझै अज्ञात छ। ओखलढुङ्गाका ३८ जनामध्ये तीन जनाको उद्धार गरिएको छ भने २५ जना अझै बेपत्ता रहेको विवरणमा उल्लेख छ। त्यस्तै, उदयपुरका २१ जनामध्ये पाँच जना परिवारको सम्पर्कमा आएका छन्। सुनसरीका २१ जनामध्ये पाँच जना सम्पर्कमा आएकाले १६ जना अझै सम्पर्कविहीन छन्।
मोरङका १७ जनाको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ। झापाका १४ जनामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना अझै सम्पर्कविहीन छन्। इलामका १२ जनामध्ये एक जनाको उद्धार गरिएको, एक जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। खोटाङका ११ जनामध्ये एक जना परिवारको सम्पर्कमा आएका छन्।
ताप्लेजुङका पाँच जनामध्ये दुई जना, सङ्खुवासभाका तीन जना, धनकुटाका दुई जना र भोजपुरका एक जना अझै सम्पर्कमा आउन सकेका छैनन्। पाँचथरका एक जना पनि बेपत्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ। प्रहरीका अनुसार भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको संख्या तथा उनीहरूको अवस्थाबारे थप विवरण सङ्कलन भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या र अवस्थाबारे थप तथ्याङ्क आउन सक्ने प्रहरीले जनाएको छ।











Discussion about this post