भदौ १६, सोलुखुम्बु । ‘खोल्साको सुन’ का रूपमा परिचित नगदे बाली अलैँचीमा सोलुखुम्बुका विभिन्न क्षेत्रमा पात खाने झुसिल्किराको प्रकोप देखिएको छ । विशेषगरी जिल्लाको लिखुपिके गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का अलैँची बगानहरूमा यस किराको संक्रमण व्यापक बन्दै गएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । किराले पातको तल्लो भागमा बसेर हरियो भाग सबै खाइदिँदा बिरुवामा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध भई बिरुवाको वृद्धि विकास रोकिने गरेको छ ।
यसअघि सञ्चालित बाली उपचार शिविर (प्लान्ट क्लिनिक) का क्रममा महाकुलुङ र लिखुपिके क्षेत्रमा समस्या देखिएपछि स्थानीय तहसँग समन्वय गरी विषादी पठाइएको थियो । तर, पछिल्लो समय पुनः किराको प्रकोप दोहोरिएपछि किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सहायक प्राविधिक महेश शर्माका अनुसार जिल्लाभर १५८.९२ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट १३४.५० मेट्रिक टन अलैँची उत्पादन भएको थियो, जसमा लिखुपिके गाउँपालिकाबाट मात्रै ४६ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । समयमै किरा नियन्त्रण गर्न नसकिए चालु वर्ष उत्पादनमा उल्लेखनीय ह्रास आउन सक्ने आकलन गरिएको छ । जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोगकिरा देखिनुका साथै किराहरूमा विषादी सहन सक्ने क्षमता समेत वृद्धि भएको पाइएको छ ।
यस समस्या समाधानका लागि आकस्मिक बाली संरक्षण सेवा कार्यक्रममार्फत र बाली संरक्षण प्रयोगशाला झुम्कासँग समन्वय गरी आवश्यक विषादी तथा प्राविधिक सहयोग उपलब्ध गराउने तयारी भइरहेको ज्ञान केन्द्रले जनाएको छ । प्राविधिक शर्माले किसानहरूलाई नयाँ बगान विस्तार गर्दा स्वस्थ बेर्ना प्रयोग गर्न, बगानको नियमित सरसफाइ गर्न र किरा लागेका पातहरू संकलन गरी नष्ट गर्न वा जलाउन सुझाव दिनुभएको छ ।
घरायसी विधिको रूपमा १ लिटर गाईवस्तुको गहुँतमा ४ देखि ५ लिटर पानी मिसाएर हप्ताको दुई–तीन पटक छर्कन सकिने उहाँको भनाइ छ । यस्तै, रासायनिक विषादीलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्न आग्रह गर्दै सुरुमा जैविक विषादी र जरा कुहिने समस्या रोकथामका लागि ’ट्राइकोडर्मा’ प्रयोग गर्न किसानहरूलाई अनुरोध गरिएको छ । प्राविधिक ज्ञानको अभाव पूर्ति गर्न ज्ञान केन्द्रले आगामी दिनमा किसान लक्षित विशेष तालिम सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमार्फत परामर्श सेवा दिइरहेको जनाएको छ ।











Discussion about this post