भाद्र १६, सोलुखुम्बु । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता सुदन किराँतीबीच चार महिनामै खटपट सुरु भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेर श्रम संस्कृति पार्टीमा समाहित भएका किराँतीलाई एकतापछि पहिलो बैठकमै प्रवेश निषेध गरिएको छ ।
धरानमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष साम्पाङ पक्षले वरिष्ठ नेता किराँती पक्षलाई प्रवेश गर्न नदिएपछि खटपट सार्वजनिक भएको हो । दुई नेताबीचको असन्तुष्टि र खटपटको कारण भने प्रस्ट भएको छैन । र, भोलिको केन्द्रीय कमिटी बैठकमा बोलाउने हुन् वा होइनन् भन्ने पनि प्रस्ट भएको छैन ।
आजको केन्द्रीय कमिटी बैठकमा भने किराँती पक्षलाई प्रवेश दिइएको छैन । र, एकतापछि पहिलोपटक यो बैठक बस्दै छ । त्यस अर्थमा पनि अहिलेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । पार्टीको जिम्मेवारी बाँडफाँटदेखि एकताको सन्देश दिने कुरामा पनि अहिलेको बैठक महत्त्वपूर्ण मानिएको थियो । कोशी प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेर हर्क साम्पाङले किराँतीलाई भित्र्याएका थिए ।
त्यसो त, पछिल्ला दिनमा कोशी प्रदेशमा दुई नेताको मिलनपछि किराँत समुदायमा उत्साह पनि थपिएको थियो । एकताको क्रममा प्रलोपाबाट किराँतीसँगै गएका नेताहरूमध्ये एक जनालाई उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसहित १८ जनालाई पार्टी एकतामा समेटिएको थियो । एकतामा थपिएको संख्यापछि श्रम संस्कृति पार्टीको ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो ।
बैठकमा सहभागी हुन किराँती समूहका नेताहरू धरान पुगेका थिए । तर, साम्पाङपक्षीय नेताहरूले प्रवेश निषेध गरेपछि उनीहरू धरानमै छन् । धरानमा रहेका नेताहरू अनौपचारिक छलफलमा जुटेको पनि श्रम संस्कृति पार्टीनिकट स्रोतले उल्लेख गरेको छ ।
किराँतीसँग चार महिनामै खटपट सुरु भएपछि पार्टीभित्र कस्तो अवस्था आउँछ भन्ने पनि चासो बढेको छ । किराँतीसँगै श्रम संस्कृति पार्टीको पदाधिकारी रहेका उपाध्यक्ष प्रकाश विकल्प, सचिव टीकाराम राईहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ । त्यसो त, केन्द्रीय सदस्यहरू हेमन्त राई, लालध्वज नेम्वाङ, दीपेन्द्र बान्तवा, पुरञ्जन राई, सालिक राई, जनक गिरी, डा सङ्गम खैजु, कनकाइष्ट राई, सरिता राई, प्रमिला राई, शारदा भट्टराई, राकेश किराँती पनि के गर्छन् भन्ने प्रस्ट भइसकेको छैन ।











Discussion about this post