भदौ १८, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका शिक्षा शाखा प्रमुख पदम बस्नेतले सामुदायिक विद्यालयमा आवश्यक भौतिक तथा शैक्षिक सुविधा उपलब्ध भए पनि अपेक्षाअनुसार शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताउनुभएको छ । उहाँले विशेषगरी तल्लो कक्षाको नतिजामा केही सुधार आवश्यक देखिएको बताउँदै विद्यार्थीको सिकाइ उपलब्धि बढाउन शिक्षकलाई थप दक्ष र अब्बल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शिक्षा शाखाले विद्यालय अनुगमनका क्रममा शिक्षक तथा अभिभावकबाट प्राप्त सुझावलाई समेत आगामी कार्यक्रमको आधार बनाउने गरेको उहाँको भनाइ छ । शिक्षकहरूले मूल्याङ्कन प्रणालीबारे थप स्पष्ट जानकारी र प्रशिक्षण आवश्यक रहेको गुनासो गरेको बस्नेतले बताउनुभयो । त्यसैगरी, विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप तथा खेलकुदका लागि पनि शिक्षकलाई आवश्यक तालिम दिनुपर्ने माग आएको उहाँले जानकारी दिनुभयो ।
कतिपय विद्यालयका शिक्षकले भलिबललगायतका खेलका नियम तथा सञ्चालन विधिबारे पर्याप्त जानकारी नभएको भन्दै खेलकुदसम्बन्धी तालिमको आवश्यकता औँल्याएको उहाँको भनाइ छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको खुम्जुङ माध्यमिक विद्यालयमा भने खेल शिक्षकको व्यवस्थापन गरिएको र आगामी दिनमा अन्य विद्यालयमा पनि यस्ता विषयलाई प्राथमिकताका साथ समेट्दै जाने शिक्षा शाखा प्रमुख बस्नेतले बताउनुभयो ।
अभिभावकहरूले समेत शिक्षकलाई थप तालिम तथा क्षमता विकासका अवसर उपलब्ध गराउन गाउँपालिकासँग अपेक्षा राखेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले विद्यालयको अनुगमन, शिक्षकको क्षमता विकास, मूल्याङ्कन प्रणालीमा स्पष्टता तथा अतिरिक्त क्रियाकलापको प्रभावकारी सञ्चालनमार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासलाई निरन्तरता दिने उहाँको भनाइ छ ।











Discussion about this post