भदौ १८, सोलुखुम्बु । सोलुखुम्बुमा मनसुनजन्य विपद्का कारण २ हजार ५७४ घर जोखिममा रहेका छन् । तीमध्ये १३० घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जनाइएको छ । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना’ अनुसार सोलुखुम्बुका ८८३ घर हिमताल विस्फोटबाट हुने बाढीको प्रत्यक्ष जोखिममा रहेका छन् ।
बाढी, पहिरो तथा हिमताल विस्फोटबाट हुनसक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै ती घरपरिवारको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार हिमताल बाढीको प्रत्यक्ष जोखिममा कोशी प्रदेशका अन्य जिल्लाका घरधुरी पनि रहेका छन् ।
ओखलढुङ्गामा १ हजार ९४१, खोटाङमा ४३०, भोजपुरमा २७५ र उदयपुरमा ३ हजार ५६२ घर जोखिममा रहेका छन् । मनसुनको अवधि जारी रहेकाले जोखिममा रहेका घरपरिवारका लागि सुरक्षित आश्रयस्थलको व्यवस्थापन, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि तीनै तहका सरकार, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनमा संलग्न निकायबीच प्रभावकारी र चुस्त समन्वय आवश्यक रहेको प्रतिवेदनले जनाएको छ ।
विशेषगरी हिमताल विस्फोट, बाढी तथा पहिरोको सम्भावित जोखिम रहेका क्षेत्रमा पूर्वतयारीका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिइएको छ । जोखिममा रहेका बस्तीको नियमित निगरानी, सूचना प्रवाह र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउनुपर्ने देखिएको छ ।











Discussion about this post