भदौ १८, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिका–२ स्थित भुट्टार स्वास्थ्य चौकी ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुने भएको छ । तोकिएका सम्पूर्ण सूचक तथा मापदण्ड पूरा गरेसँगै यो स्वास्थ्य चौकी रौतामाई गाउँपालिकाको पहिलो र उदयपुर जिल्लाकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था बन्न लागेको हो।
नेपाल सरकारको ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ तथा ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८०’ ले निर्दिष्ट गरेका अनिवार्य सूचक र मापदण्डहरू भुट्टार स्वास्थ्य चौकीले सफलतापूर्वक पूरा गरेको जनाइएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको आयोजनामा आगामी भाद्र २३ गते औपचारिक कार्यक्रम गरी स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिने तय भएको छ । विशेष गरी सुनौलो एक हजार दिनका आमा, बालबालिका तथा किशोरीहरूमा देखिने कुपोषण न्यूनीकरण गर्दै स्थानीय स्तरमा पोषणको अवस्था मजबुत बनाउन स्वास्थ्य चौकीले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएको छ ।
पोषण सुधार तथा दिगो विकासका लागि स्थानीय तह, सङ्घीय सरकार तथा विकास साझेदार निकायहरूको सहकार्य महत्त्वपूर्ण रहँदै आएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । घोषणा कार्यक्रमलाई सफल बनाउन रौतामाई गाउँपालिका, २ नम्बर वडा कार्यालय, वल्र्ड भिजन इन्टरनेसनल नेपाल, मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुर तथा जल्पा एकीकृत विकास समाज, उदयपुरले सहयोग गरेका छन् ।
आयोजक भुट्टार स्वास्थ्य चौकी व्यवस्थापन समितिले उक्त ऐतिहासिक घोषणा समारोहमा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दल, बुद्धिजीवी, टोल विकास संस्था तथा सम्पूर्ण स्थानीय सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ ।











Discussion about this post