उदयपुर, भदौ १८ गते । बाल संरक्षणका लागि डिजिटल सुरक्षासम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । ह्युरेन्डेक उदयपुरको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा हिमालयन रिसोर्टमा कार्यक्रम सञ्चालन गरिएको हो । पत्रकारलाई डिजिटल सुरक्षा, बाल संरक्षण तथा प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगका विषयमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुर शाखामा आबद्ध जिल्लामा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, बालबालिकासँग सम्बन्धित संवेदनशील सूचना तथा सामग्री प्रकाशन गर्दा ध्यान दिनुपर्ने विषय, अनलाइन जोखिम न्यूनीकरण तथा साइबर सुरक्षालगायतका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बालबालिकासम्बन्धी समाचार तथा सामग्री सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।
साथै डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकार स्वयं तथा समुदायलाई साइबर जोखिमबाट सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक आनन्द खड्का तथा आइपिएफ कार्यक्रमका कार्यक्रम व्यवस्थापक विकल सुवेदीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्षता शङ्करबहादुर थापाले गर्नुभएको थियो भने सञ्चालन प्रदीप रायमाझीले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकारद्वय कौशल चेम्जोङ र यज्ञप्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारले दुईदिने क्षमता अभिवृद्धि कार्यक्रमबाट डिजिटल माध्यममार्फत समाचार तथा सामग्री सम्प्रेषण गर्दा बाल संरक्षणका आधारभूत पक्षलाई ध्यान दिन तथा साइबर जोखिमबाट आफू र समुदायलाई सुरक्षित राख्न आवश्यक ज्ञान र सीप प्राप्त भएको बताएका थिए । समापनका क्रममा आयोजक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि पत्रकारको क्षमता विकास तथा बाल संरक्षणसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीले जोड दिएका थिए ।











Discussion about this post