भदौ १८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आगामी मङ्सिर १७ गते अन्तर्राष्ट्रिय स्तरको ‘एभरेस्ट भ्यू ट्रेल रेस’ (तेस्रो संस्करण) आयोजना हुने भएको छ । गाउँपालिकामा पर्यटन प्रवद्र्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले ४८ किलोमिटर लामो रेस प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रतियोगितामा खुला तथा विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूलाई सहभागिताका लागि आह्वान गरेको छ ।
१८ वर्ष पुगेका स्वदेशी तथा विदेशी नागरिकहरूले यस प्रतियोगितामा निःशुल्क नाम दर्ता गर्न पाउनेछन् । सूचना अनुसार प्रतियोगिता १८ देखि २९ वर्ष, ३० देखि ४९ वर्ष, ५० वर्षमाथि र खुला समूह गरी चार विधामा सञ्चालन हुनेछ । खुलातर्फका विजेता महिला तथा पुरुष दुवैले क्रमशः प्रथम पुरस्कार नगद एक लाख २० हजार, द्वितीय पुरस्कार ९० हजार, तृतीय पुरस्कार ६० हजार रुपियाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै चौथोदेखि १२ औँ स्थानसम्म आउने खेलाडीहरूलाई जनही दुई हजार चार सय रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अन्य तीनवटै उमेर समूहका विजेता महिला तथा पुरुषले प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरूप क्रमशः २४ हजार, १८ हजार र १२ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । इच्छुक खेलाडीहरूले मङ्सिर १५ गतेभित्र कार्यालय समयमा उपस्थित भई वा अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् ।
निर्धारित कार्यक्रम अनुसार मङ्सिर १७ गते बिहान ६ः०० बजेभित्र निर्माणाधीन कोर्कु रङ्गशालामा उपस्थित हुनुपर्ने र बिहान ७ः०० बजे सोही स्थानबाट रेस सुरु हुने जनाइएको छ । प्रतियोगिता अवधिभर खेलाडीहरूको दुर्घटना बीमा गरिने भए तापनि उपचार खर्च गाउँपालिकाले नबेहोर्ने र आपत्कालीन अवस्थामा हेलिकप्टरबाट समेत उद्धारको प्रबन्ध मिलाइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।











Discussion about this post