भदौ १९, सोलुखुम्बु । शेर्पा समाज माप्य दुधकोशीको आयोजनामा सञ्चालित एक महिने श्याब्रु तालिम सम्पन्न भएको छ । शेर्पा समुदायको लोप हुँदै गएको भाषा, संस्कृति, परम्परा, कला तथा मौलिक पहिचानको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिममा सहभागी प्रशिक्षार्थीलाई शेर्पा समुदायको मौलिक श्याब्रु नृत्य तथा सांस्कृतिक पक्षका विषयमा प्रशिक्षण दिइएको थियो ।
आफ्नो भाषा, संस्कार र संस्कृति नै समुदायको पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सबैको साझा भूमिका आवश्यक रहेको आयोजकको भनाइ छ । तालिम समापनका अवसरमा शेर्पा समाज माप्य दुधकोशीका महासचिव सोना शेर्पाले तालिममा उत्साहपूर्वक सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षण दिने प्रशिक्षकप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले सहभागीको लगनशीलता र उत्साहले तालिम सफल बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । तालिम सञ्चालनका लागि निःशुल्क स्थान उपलब्ध गराउने सम्बन्धित परिवारप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ । संस्थाले आगामी दिनमा पनि शेर्पा समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यले थप प्रभावकारी तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।










Discussion about this post