भदौ २०, सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीस्थित माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरेका छन् । विद्यार्थी, शिक्षक र स्थानीय शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको अभियानबाट रसुवाका भोटेकोशी बाढीपीडितका लागि ४१ हजार ४५५ रुपैयाँ संकलन भएको छ । ‘थोपा थोपा मिलेर सागर बन्छ’ भन्ने नारासहित विद्यालयले शनिबार सल्लेरीको नयाँ बजार तथा आसपासका क्षेत्रमा पुगेर राहत रकम संकलन गरेको हो ।
अभियानमा विद्यार्थी तथा शिक्षकसँगै स्थानीय नागरिकले समेत सहयोग गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिवस मुखियाका अनुसार अभियानमा ८१ जना दाताबाट उक्त रकम संकलन भएको हो । विद्यार्थी आफैँ समुदायमा पुगेर विपद्मा परेका परिवारका लागि सहयोग जुटाउन सक्रिय भएपछि अभियानले सामाजिक उत्तरदायित्वप्रति विद्यार्थीको चासोसमेत बढाएको उहाँले बताउनुभयो ।
संकलित रकम जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ । राहत रकम बुझाएपछि त्यसको प्रमाणसमेत विद्यालयमा सुरक्षित राखिने प्रधानाध्यापक मुखियाले जानकारी दिनुभयो ।











Discussion about this post