सोलुखुम्बु, भदौ २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुका उपसभापति पासाङ शेर्पा ‘पिनासा’ले तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि तीन लाख ३३ हजार ३३३ रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपसभापति शेर्पाका अनुसार उहाँले व्यक्तिगत रूपमा तथा माउन्टेन शेर्पा फाउन्डेसनको तर्फबाट उक्त सहयोग रकम विभिन्न राहत कोषमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँका अनुसार एक लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा, दुई लाख रुपियाँ शेर्पा पर्यटन व्यवसायी संघ नेपालद्वारा सञ्चालित शेर्पा गाइड तथा पोर्टर कल्याणकारी कोषमा र ३३ हजार ३३३ रुपियाँ नेपाल शेर्पा संघको आपत्कालीन राहत कोषमा प्रदान गरिनेछ । बाढीका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घर, सम्पत्ति र भविष्यका आशासमेत गुमाउनुपरेको उल्लेख गर्दै शेर्पाले विपत्तिको समयमा पीडित नेपालीप्रति ऐक्यबद्धता जनाउन सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको सन्देशमा उहाँले सहयोगको रकम ठूलो नभए पनि दुःखमा परेको आफ्नै मान्छेलाई दिइने साथ कहिल्यै सानो नहुने उल्लेख गर्नुभएको छ । प्राकृतिक विपत्तिले नेपाललाई पटक–पटक परीक्षा लिएको स्मरण गर्दै शेर्पाले भूकम्प, बाढी, पहिरोलगायत विपत्तिका कारण पछिल्ला वर्षमा धेरै नेपालीले ज्यान गुमाउनुपरे पनि विपत्तिले नेपालीलाई टुक्र्याउन नसकेको बताउनुभएको छ ।
उहाँले विपत्तिका समयमा नेपालीहरू एकअर्काको साथमा उभिँदै आएको उल्लेख गर्दै बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावितको शीघ्र उद्धार, उपचार र सुरक्षित भविष्यको कामना गर्नुभएको छ । शेर्पाले विपत्तिमा प्रभावित परिवारलाई सहयोग गर्न सबैलाई हातेमालो गर्नसमेत आह्वान गर्नुभएको छ ।










Discussion about this post