भदौ २२, सोलुखुम्बु । सोलुखुम्बुकोे सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले निजामती कर्मचारीले सेवाग्राहीप्रति नागरिकमैत्री व्यवहार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । सोमबार निजामती सेवा दिवसका अवसरमा गरिएको कुराकानीमा उहाँले निजामती कर्मचारी नागरिकलाई सेवा दिनकै लागि स्थापित सङ्गठन भएकाले सेवाप्रति सधैँ दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत थापाले आफ्नो निजामती सेवाको २८ वर्षको अनुभव रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेको करिब चार महिना भएको छ । निजामती सेवाप्रति पछिल्लो समय नागरिकको आकर्षण घटेको आफूलाई नलागेको उहाँको भनाइ छ । निजामती सेवालाई थप नागरिकमैत्री बनाउने, सुशासन प्रवर्द्धन गर्ने र प्रविधिको प्रयोग बढाउने कार्य भइरहेको भन्दै उहाँले सेवाप्रतिको आकर्षण कायम रहेको बताउनुभयो । उहाँले निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्नुपर्नेमा जोड दिनुभयो । विचाराधीन अवस्थामा रहेको निजामती सेवा ऐनले कर्मचारीको वृत्ति विकास र सेवाको सुरक्षा सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रविधिको अधिकतम प्रयोगमार्फत प्रविधिमैत्री निजामती सेवाको विकास गर्नुपर्ने उल्लेख गर्दै उहाँले ‘फेसलेस ब्युरोक्रेसी’को अवधारणालाई अघि बढाउनुपर्ने बताउनुभयो । कर्मचारीको मूल्याङ्कन प्रक्रियामा सेवाग्राहीलाई समेत सहभागी गराई ३६० डिग्री सुपरिवेक्षणको व्यवस्था गर्न सके सेवा प्रवाह थप प्रभावकारी हुने उहाँको धारणा छ । प्रमुख प्रशासकीय अधिकृत थापाले निजामती सेवा नेपालको सन्दर्भमा अझै पनि आकर्षक क्षेत्र रहेको बताउँदै नयाँ पुस्तालाई यस क्षेत्रमा आउन आग्रह गर्नुभयो । निजामती सेवामा प्रवेश गरेपछि नागरिककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार निजामती सेवामा प्रवेश गरेपछि वृत्ति विकासका विभिन्न अवसरसँगै देश तथा विदेशमा अध्ययन गर्ने अवसरसमेत प्राप्त हुने भएकाले युवाका लागि यो करियर निर्माणको राम्रो क्षेत्र बन्न सक्छ । उहाँले निजामती सेवामा प्रवेश गर्ने नयाँ पुस्ताले सेवाको अवसरलाई व्यक्तिगत लाभभन्दा नागरिकको हित र सार्वजनिक सेवासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।










Discussion about this post