भदौ २३, सोलुखुम्बु । मोन्भिसो नेपाल फाउन्डेसनले रसुवा र सोलुखुम्बुका बाढीपीडित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । फाउन्डेसनले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ । फाउन्डेसनका अनुसार रसुवा जिल्लाका सम्पूर्ण प्रभावित परिवारलाई ५० लाख रुपियाँ बराबरको राहत सामग्री वितरण गरिनेछ ।
यस्तै, सोलुखुम्बु जिल्लाका सम्पर्कविहीन बाढीपीडित परिवारलाई १० लाख रुपियाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरिएको मोन्भिसो नेपाल फाउण्डेसनको कोष अध्यक्ष लाक्पा तेम्बा शेर्पाले बताउनुभयो । बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद् कुनै भूगोल, समुदाय वा स्थानीय तहको मात्र समस्या नभई साझा मानवीय चुनौती भएको फाउन्डेसनले जनाएको छ ।
विपद्को यस कठिन घडीमा सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र तथा आम नागरिकलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न फाउन्डेसनले आग्रह गरेको छ । फाउन्डेसनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै, बाढीबाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।











Discussion about this post