भदौ २३, सोलुखुम्बु । शेर्पा समाज माप्य दुधकोशीको तेस्रो साधारण सभा खेन्पो नुर्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । माप्य दुधकोशी क्षेत्रमा समुदायको एकता, सहकार्य र सामाजिक सेवाका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो । सभामा समाजका कार्यसमितिका पदाधिकारी तथा सदस्य, अतिथि, सल्लाहकार, आजीवन सदस्यलगायतको सहभागिता रहेको थियो । साधारण सभाका अवसरमा समाजले आपत्कालीन कोषको समेत शुभारम्भ गरेको छ ।
समुदायमा आइपर्न सक्ने प्राकृतिक विपद्, आकस्मिक घटना तथा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको समाजका महासचिव सोना शेर्पाले जानकारी दिनुभयो । समाजले आपत्कालीन कोषलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै आवश्यकता परेका बेला समुदायका सदस्यलाई सहयोग गर्ने जनाएको छ ।
कोषले समुदायमा आपसी सहयोग, एकता, सहकार्य र मानवीय सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास समाजले लिएको छ । सभामा तेस्रो साधारण सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति समाजले आभार व्यक्त गरेको छ । साथै समुदायको सुख–दुःखमा एकजुट भएर सामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।










Discussion about this post