भदौ २४, सोलुखुम्बु । उदयपुरका तीन स्वास्थ्य चौकीमा बेबी वार्मर र जिल्लाका १७ स्वास्थ्य चौकीमा नेबुलाइजर मेसिन हस्तान्तरण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा हुरेन्डेक उदयपुरद्वारा सञ्चालित ‘बालबालिकाको समग्र विकासका लागि हातेमालो परियोजना’ अन्तर्गत स्वास्थ्य संस्थालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
परियोजनाअन्तर्गत रौतामाई गाउँपालिका–२ को भुट्टार स्वास्थ्य चौकी, लिम्चुङबुङ गाउँपालिका–५ को जाते स्वास्थ्य चौकी र ताप्ली गाउँपालिका–२ को लेकगाउँ–चिसापानी स्वास्थ्य चौकीमा एकरएक थान बेबी वार्मर र नेबुलाइजर मेसिन उपलब्ध गराइएको छ । यसैगरी परियोजनाको कार्यक्षेत्रमा रहेका १७ वटा स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन प्रदान गरिएको आयोजक हुरेन्डेक उदयपुरले जनाएको छ ।
नवजात शिशुलाई जन्मपश्चात् हुने सिताङ्ग तथा चिसोका कारण उत्पन्न हुने जोखिम न्यूनीकरण गरी शिशु मृत्यु रोकथाम तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाइएको छ । स्वास्थ्य सामग्री हस्तान्तरणसँगै बेबी वार्मर जडानका लागि प्राविधिक टोलीसहित सम्बन्धित स्वास्थ्य संस्थामा पुगेर उपकरण जडानसमेत गरिएको छ ।
कार्यक्रममा हुरेन्डेक उदयपुरका महिला आर्थिक तथा सशक्तीकरण अधिकृत प्रदीप रायमाझी, एमइएल अधिकृत प्रतिमा खरेललगायतको सहभागिता रहेको थियो । स्वास्थ्य संस्थामा आवश्यक सामग्री उपलब्ध गराउन समन्वय, सहकार्य र सहयोग गर्ने वर्ल्ड भिजन इन्टरनेसनल नेपाललगायत दातृ निकाय, स्वास्थ्य संस्था तथा सरोकारवालालाई आयोजकले धन्यवाद दिएको छ ।











Discussion about this post