भदौ २४, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता तथा व्यवसायी मर्कामा परेका छन् । लामो समयदेखि राति मात्र नभई दिउँसोसमेत विद्युत् जाने–आउने क्रम दोहोरिँदा सर्वसाधारणको दैनिक जनजीवनसँगै उद्योग, व्यवसाय, सरकारी तथा निजी कार्यालय र सञ्चारमाध्यमका काम प्रभावित हुँदै आएका छन् । सल्लेरीमा लामो समयदेखि छापाखाना सञ्चालन गर्दै आउनुभएका राज बुढाथोकीले विद्युत् पटक–पटक अवरुद्ध हुँदा समस्या भएको बताउनुभयो । विद्युत् आउने–जाने क्रमका कारण केही समयअघि आफ्नो प्रिन्टरसमेत बिग्रिएको उहाँले जानकारी दिनुभयो ।
पूर्व जानकारीबिना पटक–पटक विद्युत् अवरुद्ध गर्नुभन्दा निश्चित समयका लागि विद्युत् कटौतीको तालिका सार्वजनिक गरिए आफूहरूलाई काम व्यवस्थापन गर्न सहज हुने बुढाथोकीको भनाइ छ । उहाँले विद्युत् क्षेत्रमा दक्ष जनशक्तिको अभाव भए आवश्यक जनशक्ति व्यवस्थापन गरी उपभोक्तालाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । यस्तै, सल्लेरीमा स्नूकर हाउस सञ्चालन गर्दै आउनुभएका पिटर शेर्पाले विद्युत् अवरोधले व्यवसायमा प्रत्यक्ष असर परेको बताउनुभयो । खेल भइरहेका बेला एक्कासि विद्युत् जाँदा ग्राहक प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।
विद्युत् समस्याबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा समस्या समाधान गर्ने आश्वासन पाए पनि अवरोध दोहोरिने गरेको शेर्पाको भनाइ छ ।बजारमा ग्यासको अभाव भएपछि विद्युतीय चुलो प्रयोग गर्दै आउनुभएकी कमला थापाले विद्युत् आपूर्ति नियमित नहुँदा खाना पकाउनेदेखि दैनिक कामकाजसम्म प्रभावित हुने गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार विद्युत् अनियमित हुँदा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या हुने गरेको छ ।
सल्लेरी क्षेत्रमा सल्लेरी–च्याल्सा विद्युत् कम्पनी लिमिटेडको विद्युत् लाइनसमेत नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा जोडिएको छ । सल्लेरी–च्याल्सा विद्युत् कम्पनी लिमिटेडका सूचना अधिकारी विकासमान राईले वितरण क्षेत्रमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएका कारण केही समय विद्युत् अवरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार ट्रान्सफर्मरमा देखिएको समस्या अहिले समाधान भइसकेको छ ।
हावाहुरी तथा चट्याङका कारण पनि कहिलेकाहीँ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो । पटक–पटकको विद्युत् अवरोधका कारण सल्लेरीका उद्योग तथा व्यवसायसँगै सरकारी तथा निजी कार्यालय, छापाखाना, सञ्चारमाध्यम र सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुँदै आएका छन् । विद्युत् आउने–जाने क्रमले विद्युतीय उपकरणमा क्षति पुग्ने जोखिमसमेत बढेको उपभोक्ताको गुनासो छ । सम्बन्धित कम्पनीले विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा उपभोक्तालाई सकेसम्म नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ ।










Discussion about this post