भदौ २४, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले १७ लाख ८५ हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बुधबार गाउँपालिका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको सेवासुविधा कटौती गरी उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिकाका चार जना नागरिक अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने निर्णयसमेत बैठकले गरेको छ । यस्तै, सम्पर्कविहीन नागरिकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार ५५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।
बैठकले वडा नं. ८ का पानदेउ राई र डम्बरबहादुर राई तथा वडा नं. २ का बाबुराम खत्री र विनोद बस्नेतका परिवारलाई उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिकामा स्थायी ठेगाना भएका चार जना नागरिक सम्पर्कविहीन भएका थिए ।
उनीहरूको अवस्था पत्ता लगाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग समन्वय भइरहेको भए पनि हालसम्म अवस्था अज्ञात रहेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउनुका साथै विपद्का समयमा स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने खोज, उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले काम भइरहेको कार्यवाहक अध्यक्ष राईले बताउनुभयो ।










Discussion about this post