भदौ २५, सोलुखुम्बु । किराँत राई पत्रकार संघ, सोलुखुम्बुले समुदायका भाषा, संस्कृति, पहिचान र समसामयिक मुद्दालाई सञ्चारमाध्यममार्फत थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको छ । संघको पाँचौँ जिल्ला अधिवेशनबाट अमृत थुलुङ राईको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । अधिवेशनले पत्रकारहरूको हकहित संरक्षणसँगै क्षमता विकास र व्यावसायिक पत्रकारितालाई प्राथमिकता दिने विषयमा समेत जोड दिएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोनी राई, सचिवमा सविना राई, सहसचिवमा अनिलकुमार राई र कोषाध्यक्षमा रेविका राई चयन हुनुभएको छ । सदस्यमा प्रवीण राई, प्रदीप राई र झलक राई चयन हुनुभएको छ भने एक सदस्य पछि मनोनयन गरिने संघले जनाएको छ । यसैगरी संघको केन्द्रीय प्रतिनिधिमा डि.बी. खालिङ र गार्डेन राई चयन हुनुभएको छ ।
अधिवेशनले किराँत राई समुदायसँग सम्बन्धित विषयलाई समाचार तथा अन्य सञ्चार सामग्रीमार्फत उजागर गर्ने, समुदायको भाषा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ । नयाँ कार्यसमितिले पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि, हकहित संरक्षण तथा पत्रकारिताको माध्यमबाट समुदायका समसामयिक विषयलाई सार्वजनिक बहसमा ल्याउन सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ ।











Discussion about this post