भदौ २५, सोलुखुम्बु । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित सोलुखुम्बुका नागरिक तथा परिवारलाई राहत उपलब्ध गराउने र सम्पर्कविहीनको खोजीका लागि स्थानीय तहहरूले पहल थालेका छन् । सोलुदूधकुण्ड नगरपालिकाले बाढीका कारण मृत्यु भएका तथा हालसम्म सम्पर्कविहीन रहेका जिल्लाका नागरिकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ। नगरपालिकाले उक्त राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरे पनि अहिले सम्बन्धित परिवारलाई जानकारी गराउँदै आवश्यक कागजातसहित सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
नगर कार्यपालिकाको निर्णयअनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएका तथा हालसम्म बेपत्ता रहेका सोलुखुम्बुमा स्थायी ठेगाना भएका नागरिकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । राहत प्राप्त गर्न मृतक वा बेपत्ता नागरिकको नाम, थर र स्थायी ठेगाना खुलेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नजिकका नातेदार वा हकवालाको नागरिकताको प्रतिलिपि र सम्पर्क नम्बर पेश गर्नुपर्नेछ। मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित निकायबाट जारी प्रमाणित कागजात तथा बेपत्ता भएको अवस्थामा सम्बन्धित प्रहरी कार्यालयबाट जारी प्रमाणपत्र वा सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै, सम्बन्धित वडा कार्यालयको सिफारिस, राहत रकम प्राप्त गर्ने व्यक्ति र मृतक वा बेपत्ता नागरिकबीचको नाता प्रमाणित कागजात तथा राहत प्राप्त गर्ने व्यक्तिको बैंक खाता विवरणसमेत पेश गर्नुपर्नेछ ।
यसैगरी, थुलुङ दुधकोशी गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १७ लाख ८५ हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बुधबार गाउँपालिका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको सेवासुविधा कटौती गरी उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । भोटेकोशी बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिकाका चार जना नागरिक अझै सम्पर्कविहीन छन् ।
उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ । सम्पर्कविहीन नागरिकका परिवारलाई प्रतिपरिवार ५५ हजार रुपियाँ राहत उपलब्ध गराउने निर्णयसमेत गाउँपालिकाले गरेको छ । वडा नम्बर ८ का पानदेउ राई र डम्बरबहादुर राई तथा वडा नम्बर २ का बाबुराम खत्री र विनोद बस्नेतका परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
यता, लिखुपिके गाउँपालिकामा भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका ६ जनामध्ये एक जना परिवारको सम्पर्कमा आएका छन् । पाँच जना अझै सम्पर्कविहीन रहेको गाउँपालिकाका प्रवक्ता मनिराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले पाँचवटै वडामा हरितालिका तीज मनाउन छुट्याइएको रकम बाढीपीडितको सहयोगमा प्रयोग गर्ने निर्णय गरेको छ । पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट समेत सहयोग जुटाउने निर्णय गरिएको प्रवक्ता बस्नेतले बताउनुभयो । सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, माप्य दुधकोशी गाउँपालिकामा बाढीपछि ११ जना नागरिक अझै सम्पर्कविहीन रहेको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले बताउनुभयो । उनीहरूको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । भोटेकोशी बाढीका कारण सोलुखुम्बुका विभिन्न स्थानीय तहका नागरिक प्रभावित भएका छन् । सम्पर्कविहीन नागरिकको खोजी, परिवारलाई राहत तथा बाढीबाट प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय तहहरूले आ–आफ्नो तहबाट पहल गरिरहेका छन् ।










Discussion about this post