असार ८, सोलुखुम्बु । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने काममा ’टीबीएम’ मेशिनको प्रयोग हुने भएको छ । सुनकोशी–मरिणको स्थलगत अवलोकन, विस्तृत अध्ययन तथा अन्तरक्रियापछि १३ किलोमिटर लामो मुख्य सुरुङको निर्माण कार्य अब “टनेल बोरिङ मेशिन” अर्थात् ’टीबीएम’ प्रविधिबाट हुने भएको हो ।
आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलेक्ट्रोकन्सल्ट एसपीएले ’टीबीएम’ बाट मुख्य सुरुङ खन्ने काम सम्भव भएको र त्यसैअनुसार काम गर्न सिफारिस गरेको छ । परम्परागत ’ब्लास्टिङ’ प्रविधिको सट्टा ’टीबीएम’ बाट सुरुङको निर्माण गर्दा चार किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने, आठ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने, मुख्य र अडिट सुरुङ खन्न झन्डै तीन हजार छ सय टन विष्फोटक पदार्थ नचाहिने भएको छ ।
यसबाट सुरुङको चट्टान र माटो खन्ने काम घट्ने र आठ किलोमिटर सडक बनाउनु नपर्ने गर्दा वातावरणीय प्रभाव घट्ने भएको छ । यसअघि भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन आयोजनाको मुख्य सुरुङको निर्माण कार्य ’टीबीएम’ प्रविधिबाट सम्पन्न भएको थियो । जलविद्युत् आयोजनामा दूधकोशी जलाशययुक्त आयोजना ’टीबीएम’ प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना हुनेछ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा यो आयोजना बन्दैछ ।
Discussion about this post