भदौ १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आगामी भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा बालक–बालिकाहरूका लागि विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने भएको छ । गाउँपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको लागि हाजिरी जवाफ प्रतियोगिता र कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको लागि नेपाली हिज्जे प्रतियोगिता तय गरेको छ ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतका अनुसार, यी प्रतियोगिताहरू लिखुपिके गाउँपालिकाको कार्यालयमा आयोजना हुनेछन् । उहाँले पालिका भित्रका सबै विद्यालयहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, बालबालिकाहरूको प्रतिभा र सृजनशीलताको सम्मान गर्नुपर्ने बताउनुभयो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिहरूलाई क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै, नेपाली हिज्जे प्रतियोगितामा पनि प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिहरूलाई क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने निमिक्त प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार कार्कीले जानकारी दिनुभयो । बाल दिवसको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले बालबालिकामा शिक्षा र प्रतिस्पर्धात्मक भावना वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
Discussion about this post