साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले विद्यालयमा बार्षिक शैक्षणिक योजनाले शिक्षामा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । वडा कार्यालयले शैक्षिक सत्र २०८० बाट वडा भित्रका सबै विद्यालयमा सुरुवात गरिएको वार्षिक शैक्षणिक योजनाले शिक्षालाई गुणस्तरीय बनाउने विश्वास लिनुभएको हो ।
वार्षिक शैक्षणिक योजनामा वडाले त्रैमासिक परीक्षा अगाडी विद्यालयमा शिक्षकहरुले कति इकाई सम्म पठनपाठन गराउने विषय तय गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ । यो नियम लागु नगर्दा शिक्षकहरुले एक दिन बराबर २ देखि ३ वटा इकाई पढाउने र लामो समय सम्म बिदा बस्ने भन्दै यसले शिक्षामा ठुलो असर पुग्ने उल्लेख गर्नुभयो । यस्तै शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनका लागि वडा अध्यक्ष स्वयमंले प्रत्येक महिना महिनामा वडा भित्र रहेका ८ वटा विद्यालयका प्रध्यानध्यापकहरुसँग अन्लाईन छलफल गर्दै आएको उल्लेख गर्नुभयो ।
यस्तै ग्रामिण क्षेत्रका नागरिकहरुले आफ्नो बालबच्चालाई अङग्रेजी विषयमा अब्बल बनाउनका लागि निजि विद्यालय पठाउने गरेको भन्दै सरकारी विद्यालयबाटै अनिवार्य नेपाली र सामाजिक विषय बाहेकका अन्य विषय अङग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ । गत शैक्षिक सत्रमा कक्षा १ बाट लागु गरिएको नियम आगामी दिनहरुमा २, ३ हुदै अन्य कक्षाका विद्यार्थीलाई समेत अङग्रेजि माध्यमबाट पढाइने जनाइएको छ ।
Discussion about this post