साउन १९, सोलुखुम्बु । शुक्रबार घण्टाकर्ण बगाएर नेवारी समुदायको सांस्कृतिक जात्रा लाखे जात्रा सुरु भएको छ । हिमाली जिल्ला सोलुखुम्बुका नेवारी समुदायले शुक्रबार बाट जिल्ला सदरमुकाम सल्लेरीमा लाखे जात्रा सुरु गरेका हुन् ।
गठेमङ्गलबाट सुरु गरेर भाद्र कृष्ण जन्माष्टमीका दिन समापन हुने नेवारी समुदायको लाखे जात्रा हरेक वर्ष यो समुदायले भव्यताका साथ मनाउने गर्दछ । परापूर्वकाल देखी चलिआएको रीतिथिति लाई निरन्तरता दिँदै यो लाखे नाच नेवारी समुदायले अव एक महिना सम्म प्रदर्शन गर्ने गरेका छन् ।
नेवारी समुदायको यो विशेष पर्वलाई जोगाइराख्न सल्लेरीमा रहेका नेवारी समुदायको सांस्कृतिक संस्थाले निरन्तरता दिइरहेको अध्यक्ष बुद्धिनारायण श्रेष्ठको भनाई छ । शनिबार प्रदर्शन गरिएको जात्रामा ढोल झ्याम्टा बजाएर विभिन्न खालका मकुन्डो लगाएर सदरमुकाम सल्लेरीको दोर्पु बजार देखी नयाँ बजार , जिल्ला प्रशासन कार्यालय परिसर लगायतका स्थानमा नाच प्रदर्शन गरेका छन ।
नाच हेर्नका लागी दर्शक र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति देख्न सकिन्थ्यो । जात्रा प्रदर्शनका क्रममा सान्ती सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिएको थियो भने यातायात आवतजावतलाई चुस्त दुरुस्त राख्न ट्राफिक प्रहरी खटिएको थियो ।
Discussion about this post