साउन ३२, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी मावि खोक्सेलीको दुईतले चारकोठे भवन सम्झौता भएको नौ वर्षसम्म पनि बन्न सकेको छैन। विद्यालय सुधार कार्यक्रम अन्तर्गत तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७१/०७२ मा विनियोजन भएको २४ लाख बजेटबाट बनिसक्नुपर्ने भवन, अहिलेसम्म लथालिङ्ग छ पिल्लर मात्रै ठडिएको छ ।
घडेरीमा झारैझार पलाएको छ। तत्कालिन प्रधानाध्यापक राजेन्द्र प्रसाद दाहाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पृथ्बी दाहालले सम्झौता गरेर उक्त शिर्षकमा निकासा भएको २४ लाखमध्ये पेटी ठेक्का प्रक्रियामा योजना सम्पन्न गराउन बडहरे बाङ्माका अर्जुन तामाङलाई पहिलो पटक ८ लाख र २०७४ साल बैशाख १५ गते ८ लाख गरी १६ लाख बुझाएका थिए। तर, तामाङले घडेरी सम्याउने र पिल्लर ठड्याउने काम मात्रै गरेको देखिन्छ।
भवन किन बन्न सकेन भनेर तामाङलाई बुझन पटक–पटक फोन गर्दा उहाँको फोन उठेन। बाँकी ८ लाख सैद्धान्तिक रुपमा विद्यालयमा मौजात रहेको देखिए पनि सो वजेट विवरणका लागि तत्कालिन अवस्थाको बैंक स्टेटमेन्ट हेर्नुपर्ने देखिएको तर, उक्त बैंक स्टेमेन्ट तत्कालिन प्रअ दाहालकै जिम्मामा रहेको पाईएकाले हेर्न नमिलेको वर्तमान प्रधानाध्यापक नयन कुमार राईले साउन २९ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विवरण पेश गरिएको पत्रमा उल्लेख छ ।
विद्यालयमा मौजात रहेको ८ लाखको बैंक स्टेटमेन्ट उहाँहरुसँगै भएको तत्कालिन प्रअ दाहालले बताउनुुभयो। श्रोतका अनुसार विद्यालय भवनका विषयमा अख्तियारमा मुद्दा चलिरहेको बताईएको छ। वडाध्यक्ष एवंम वडा शिक्षा समिति संयोजक किशोर कुमार बस्नेतले पनि भवन बनाउने काम सुरु भएको तर, अहिलेसम्म त्यसै रहिरहेको बताउनुभयो ।
Discussion about this post