भदौ ३, सोलुखुम्बु । पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/७८ बाट उद्यान निर्माण थालिएको हो ।
यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो । त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ ।
उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिए ।
दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।
त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उनले जानकारी दिए ।
Discussion about this post