मंसिर २०, साेलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गरगहना सफा गर्ने भन्दै ठगी गर्ने २ जनालाई सार्वजनिक गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-४, बागवानीस्थित हिरा कार्कीको घरमा पाहुना बस्न आएकी उनकी कान्छी बहिनी जयन्ता कार्कीलाई प्रलोभन देखाई ठगी गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ गरि आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार भारतको साहर्सा पुरषोत्तमपुर निवासी ३२ वर्षीय अजय कुमार र १९ वर्षीय करण कुमारले सुनका गरगहनाहरू सरसफाइ गरिदिने बहाना बनाई जयन्ता कार्कीको सुनको सिक्री, औंठी, र कानमा लगाउने रिङ ठगी गरेको आरोप छ ।
ठगीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले स्थानीय महिला समूह, भद्रभलाद्मी, र जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । उहाँले यस्ता ठगहरूबाट बच्न सबैलाई सचेत रहि ती व्यक्तिमा शंका लागेमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गर्नु भएको छ ।
पक्राउपछि अभियुक्तहरूको साथबाट सुन सफा गर्न प्रयोग गरिएका सामग्री, रसायन, र दुबै जनाको झोलासहित ठगीमा प्रयोग भएको सरसामान प्रहरीले बरामद गरेको छ।जिल्ला अदालत सोलुखुम्बुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनाको अनुसन्धान जिम्मा लिएका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार ठगीका यस्ता घटनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
Discussion about this post