मंसिर २१, सोलुखुम्बु । अलपत्र अवस्थामा फेला परेकी एक महिलालाई उद्धार गरी प्रहरीले मायाघर इटहरी पठाएको छ । गत कार्तिक ३ गते साँझ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ साल्मे क्षेत्र स्थित सडकको नालीमा बेवारिसे अवस्थामा फेला परेकी उनलाई उद्धार गरि मायाघर इटहरी पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख अनोज कुमार घिमिरे र सोलुदुधकुण्ड नगरपालिकाको पहलमा उनलाई उद्धार पश्चात जिल्ला अस्पताल फाप्लुमा उपचार गरि माया घर पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो । आफ्नो नाम, थर समेत बताउन नसक्ने उनलाई प्रहरीको उद्धार पश्चात जिल्ला अस्पताल फाप्लुमा लामो समयको उपचार पछि अवस्थामा सुधार ल्याएर मायाघर पठाइएको डीएसपी घिमिरेको भनाई छ ।
प्रहरीले उद्धारमा सहयोग गर्ने जिल्ला अस्पताल फाप्लुका डाक्टर प्रशान्त शाह, सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङ, प्रजिअ अनोज घिमिरे, प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा, माया घर इटहरीका सुभद्रा प्याकुरेल लगायतलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
Discussion about this post