मंसिर २९, सोलुखुम्बु । किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली शनिबार सोलुखुम्बुमा हर्ष उल्लासकासाथ मनाइएको छ । जिमि (राई) उत्थान समाज सोलु स्थानीय समितिले विशेष कार्यक्रम आयोजना गरी भव्यताका साथ सो पर्व मनाएको हो । “जातीय अस्तित्वको उच्च स्वाभिमान, किराँत संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ उधौली पर्व जिल्लामा मनाईएको आयोजकले जनाएको छ ।
किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाईयाक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्ने गरेका छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
आज आयोजित उधौली पर्वमा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङ, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरे लगायत स्थानीय किरात समुदायका व्यक्तिहरुको भव्य उपस्थित रहेको थियो ।
जिल्लामा २०५५ सालबाट जिमी राई उत्थान समाज जिल्ला समितिको स्थापना भएको थियो । किराँत समुदायका मानिसहरू साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गर्दै दोस्रो महत्त्वपूर्ण चाड उधौली हर्षोल्लासका साथ मनाएका छन् ।
Discussion about this post