पौष १, सोलुखुम्बु । माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनर्निर्माणको टेण्डरका लागि जनप्रतिनिधि सहितको प्राविधिक टोली स्थलगत सर्वेक्षणमा पुगेको छ । सोमबार माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई लगायत प्राविधिकहरुको टोली स्थलगत सर्वेक्षणमा पुगेका हुन् ।
माप्य खुम्बु मितेरी मोटरेवल पुल करिव ५० मिटर पर स्थान्तरण गरी पुनर्निर्माणको टेण्डर प्रक्रिया अगाडी बढाईने भएको छ । सर्वेक्षणका क्रममा मोटरेवल पुलको लागि उपयुक्त प्राविधिक रिपोर्टअनुसार साविकको स्थानबाट केही पर स्थान्तरण गरेर निर्माण गर्ने तयारी भएको उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्कालको लागि ह्वीमपाईप राखेर यातायात सुचारु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अब दुधकोशी नदीमा ह्वीमपाईप राख्ने र जुभिङपट्टीको दुई टर्निङ ट्रयाक ओपनको काम बाँकी रहेको जनाइएको छ । पुल निर्माणको प्रक्रिया अगाडी बढाउदै ह्वीमपाईप राखेर सल्लेरी–माप्य–खुम्बु हाईवे चाडै सुचारु गरिने जनाइएको छ ।
उक्त मोटरेवल पुल गत साउन ३२ गते हिमपोखरी फुटेर आएको थामे बाढिले क्षतिग्रस्त बनाएको थियो । जसका कारण हाल खुम्बुसँगको सिधा यातायात सेवा टुटेको छ भने त्यसबाट खुम्बुवासी मात्रै नभएर त्यस क्षेत्रमा घुम्न जाने हजारौं आन्तरिक तथा वाह्य पर्यटकहरुले आवतजावतमा सास्ती खेप्नुपरिरहेको छ ।
Discussion about this post