पौष ४, सोलुखुम्बु । खोटाङको दिप्रुम चुईचुम्मा गाउँपालिकामा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको गत मंसिर १० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार शैक्षिक बर्ष २०८१ को अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
विद्यार्थीहरूमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताउनुभयो । उहाँले विद्यार्थीहरूमा लगनशीलता, अनुशासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने उल्लेख गर्नुभयो । संयोजक गिरीका अनुसार प्रतियोगिता शान्ति निकेतन मिनाकर्ण मावि सापातेलको खेलमैदानम आउँदो माघ २५ गतेदेखि २७ गते सम्म संचालन गरिने भएको हो ।
प्रतियोगिता नेपाल सरकार शिक्षा, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० (पाँचौ संसोधन) बमोजिम गत शैक्षिक बर्ष अनुसार नै छात्र÷छात्रा भलिबल, कबडी र एथलेटिक्स अन्तरगत खेलहरु समावेश गरिने गाउँपालिकाले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आवश्यक तयारी गर्न विद्यालयलाई आग्रह गरिएको छ ।
Discussion about this post