पौष ४, सोलुखुम्बु । सोलुखुम्बुमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालीका सङ्घले अव फोहोरमैला व्यवस्थापनमा समेत सहयोग गर्ने भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सोलु चामको सहयोग र शेर्पा बालबालीका सङ्घको सहजिकरणमा फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको हो । विहीबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र शेर्पा बालबालिका सङ्घका अध्यक्ष निमा शेर्पा बीच नगरपालिकामा फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर खर्च गर्ने गरि सम्झौता भएको हो ।
सम्झौतामा दुबै पक्षका तर्फबाट मेयर शेर्पा र अध्यक्ष शेर्पाले हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाका ५ वटा वडामा फोहोरमैला व्यवस्थापन, फलफूलका बिरुवा वृक्षारोपण, विद्यार्थीमा जनचेतना अभिवृद्धि लगायत क्षेत्रमा लगानी गर्नेगरी नगरपालिका र सङ्घबीच सम्झौता भएको हो । चालु आर्थिक वर्षमा सङ्घले ५० हजार अमेरिकी डलर शेर्पा बालबालिका सङ्घ मार्फत खर्च गर्ने र प्रभावकारी काम भएको खण्डमा आगामी वर्षहरूमा पनि सम्झौता नवीकरण गर्दै जाने शेर्पा बालबालिका सङ्घ अध्यक्ष निमा शेर्पाले बताउनुभयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेयर शेर्पाले याे परियाेजना नगरपालीकामा पाइलट प्राेजेक्ट भएकाे भन्दै यसकाे दिगाेपना र प्रभावकारीता हेरेर अगाडी बढ्रने उल्लेख गर्नुभयाे । नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी कामलाई प्रभावकारिताका साथ अगाडि बढाउने बताउँदै उहाँले ५ वटै वडामा काम शिघ्र सुरु हुने बताउनुभयो । उहाँले सम्झौता कार्यान्वयनमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने पनि प्रष्ट पार्नुभयो ।
शेर्पा बालबालिका सङ्घले यस अघि विभिन्न समयमा नगरक्षेत्र भित्रका विद्यालयमा फोहोरमैला व्यवस्थापन सम्बन्धी अन्तरकृयाका साथै प्रयोगात्मक कार्य सञ्चालन गरेको थियो । सोही आधारमा सोलु चाम र नगरपालिका बीच आयोजना कार्यान्वयन गर्ने समझदारी भएको थियो ।
Discussion about this post