पौष ५, एजेन्सी । माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण देशकै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका कारण विथोलिएको पाइएको छ । नेपालको अरूण नदीमा बनाउन खोजिएको माथिल्लो अरूण जलविद्युत आयोजना निर्माण देशकै पूर्वप्रधानमन्त्री, छिमेकी र ऋणदाताका कारण बिथोलिएको हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, न्यून र मध्य आय भएका देशलाई ऋण र अनुदान दिइरहेको जनाउने अन्तरराष्ट्रिय वित्तीय संस्था विश्व बैंक र नेपालको दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नै नदीमा जलविद्युत आयोजना बनाउन खोज्दा सकसमा पारेका हुन् ।
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण गर्न खोजिएको अर्ध–जलाशययुक्त माथिल्लो अरूण आयोजनाको प्रस्तावित उत्पादन क्षमता एक हजार ६३ दशमलव ३६ मेगावाट हो । यतिखेर आयोजनाको प्रवद्र्धक अप्पर अरूण हाइड्रो इलेक्ट्रिक लिमिटेडले २१ किलोमिटर पहुँच सडक (एक्सिस रोड)को काम गरिरहेको छ । आयोजना बनाउन भोटखोलामा चार हजार ५६३.०६ रोपनी (करिब २३२.१४ हेक्टर) निजी जग्गा पनि अधिग्रहण भइसकेको छ ।
करिब सकिएको जग्गा अधिग्रहणको काममै नेपालले सवा दुई अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिसकेको छ ।तर, पछिल्लो साता यस आयोजना अघि बढ्न नदिनेगरी प्रमुख ऋणदाता भनिएको विश्व बैंक र दक्षिणी छिमेकी भारतले ‘अनावश्यक चासो’ देखाइदिँदा नेपाल समस्यामा परेको छ । यस्तो स्थिति निम्तनुमा आर्थिक कूटनीति र छिमेक सम्बन्धलाई निजी/पार्टीगत फाइदाका निम्ति उपयोग गर्ने गरेका नेपालका पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रमुख कारण देखिएका छन् ।
Discussion about this post