पौष ५, सोलुखुम्बु । गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।
थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो ।
त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा एउटा स्टेसनबाट राहदानीको आवेदन लिने काम हुँदै आएको छ । जसको क्षमता ४० जनासम्मको छ ।
Discussion about this post