पौष ७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले थुनामा रहेका कैदीलाई नागरिकता दिएको छ । आइतबार अपरान्ह सल्लेरी स्थित कारागार कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले ५ जना कैदीलाई नागरिकता प्रदान गर्नुभएको हो । कार्यालयले ३ जना कैदीलाई प्रतिलिपी र २ जनालाई नयाँ गरि जम्मा ५ ओटा नागरिकता वितरण गरेको हो ।
विभिन्न मुद्दामा थुनामा रहेका उनिहरुलाई न्यायिक काम लगायत अन्य विभिन्न सरकारी सेवा सुविधा प्राप्त गर्न सहजता होस भन्ने उद्देश्यले नागरिकता प्रदान गरिएको हो । कारागारमा रहेका कतिपय कैदीबन्दीसँग नागरिकता सम्म नहुँदा विभिन्न समस्या पर्ने भएकाले उनीहरूको खोजी गरेर नागरिकता प्रदान गरिएको सीडीयो घिमिरेले बताउनुभयो । नागरिकता हरेक उमेर पुगेका नेपालीको नैसर्गिक अधिकार भएकाले राज्यको दायित्व पुरा गर्नका आफू अगाडि सरेरै काम गर्ने सीडीयो घिमिरेको भनाई छ ।
यस्तै प्रजिअ घिमिरेले कैदीबन्दीको राष्ट्रिय परिचयपत्र बनाउनका लागी पनि नागरिकता आवश्यकता पर्ने भएकाले नागरिकता वितरण गरिएको उहाँको भनाई छ । कार्यालयले कैदीहरूको राष्ट्रिय परिचयपत्र बनाउने कामलाई विवरण सङ्कलन गर्दै अगाडि बढाइरहेको प्रजिअ घिमिरेको भनाई छ । घिमिरे जिल्लामा सरुवा भएर आएपछि कागजात नभएकै कारण कानुनी अड्चन भोगिरहेका व्यक्तिहरूलाई नागरिकता प्रदान गर्नमा तदारुकता देखाउनुभएको छ ।
यसअघि कार्यालयले अस्पतालमा उपचार गराइरहेकी एक कैदीलाई अस्पतालमै पुगेर नागरिकता प्रदान गर्नुभएको थियो । आइतबार नागरिकता वितरणका लागी नेपाली सेनाका मेजर समृत जङ्ग थापा, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरे, शसस्त्र प्रहरी वल सोलुखुम्बुका प्रमुख गोविन्द पोखरेल, राष्ट्रिय अनुसन्धान विभाग सोलुखुम्बुका प्रमुख निर्मल पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post