पौष ८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा तीन आर्र्थिक बर्षमा ३४ हजार बढी चिराइतो निकासी भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार गत तीन आर्थिक बर्षमा ३४ हजार ३ सय बढी चिराइतो निकासी भएको हो । गत आर्थिक बर्ष २०७८/७९ मा ५ हजार किलो, २०७९/०८० मा १२ हजार ५ सय किलो र २०८०/०८१ मा १६ हजार ८ सय किलो चिराइतो निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुको सूचना अधिकारी मनराज राईले जानकारी दिनुभयो ।
जिल्लामा तुलनात्मक रुपमा चिराइतो उत्पादन बढेसँगै निकासी पनि बढेको बताइएको छ । चिराइतो खेती विशेषगरी सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका लगायतका क्षेत्रमा चिराइतो खेती गरिँदै आएको छ ।
वन्यजन्तुहरुले समेत दुःख नदिने भएकाले यसतर्फ किसान आकर्षित भएका बताइएको छ । जिल्लामा उत्पादन भएको चिराइतो बढीजसो भारत निकासी हुने गरेकोे छ भने केही मात्रामा विराटनगर, काठमाण्डौ लगायतका जिल्लामा खपत हुने गरेको जनाइएको छ । चिराइतो उत्पादनबाट राम्रै आम्दानी हुने भए पछि पछिल्लो समय यसतर्फ किसानहरु आकर्षित भएका छन् ।
जिल्लाका धेरै किसानहरुले अहिले जडीबुटी खेतीका लागि पनि प्रकृयाको काम गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । औषधीय गुण प्रशस्त हुने चिराइतो जडीबुटीहरुमध्ये महत्त्वपूर्ण मानिन्छ ।
ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत यसको प्रयोग गर्ने गरिएको छ । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post